सिन्धुपाल्चोक । अविरल वर्षासँगै गए राति मेलम्ची नदीमा आएको बाढीले फेरि तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले बताउनुभयो ।
उहाँले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको जानकारी दिनुभयो । थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ । यी घर यसअघिको बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । गत साउन १६ पछिको बाढीले अहिलेसम्म १११ घरटहरा बगाइसकेको छ । गत असार १, साउन १६ पछिका निरन्तर बाढीले पाँचजनाको मृत्यु भएको छ भने छ घाइते र २० बेपत्ता छन् ।

























