काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ ।
देउवा सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याएलगतै एमालेले १४ सांसदलाई कारबाही गरेको हो । राजनीतिक दलसम्बन्धी ऐन दफा २८ (१) बमोजिम कार्य नगरी दलको हृवीप उल्लंघन गरेकाले कारबाही गरिएको एमाले स्रोतले जनाएको छ ।
कारबाहीमा पर्ने सांसदहरुमा नेता नेपालसँगै मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाक्री, विरोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेका छन् । उनीहरुलाई कारबाही गरेकाले पदमुक्त गर्न एमालेले संसद सचिवालयमा पत्र पनि पठाएको छ । सो पत्र संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको टेबलमा पुगेको स्रोतले बताएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले ह्वीप उल्लंघन गरेका सांसदलाई सम्बन्धित दलले कारबाही गरी निस्काशित गर्न सक्ने व्यवस्था गरेको छ ।
























