काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ । एमाले केन्द्रीय कार्यालयले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको जनाएको छ । निर्वाचन आयोग स्रोतका अनुसार एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र बाबुराम दाहालसहितको टोली आज दिउँसो गएर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेको हो ।
२०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी रहेकोमा अब २६० रहने गरी पार्टीको निर्णय निर्वाचन आयोग पठाइएको छ । २०३ जनामध्ये ४ जनाको निधन भएको र प्रकाश ज्वाला निष्कासनमा परेकाले २६० जनाको विवरण आयोगमा पठाइएको एमाले स्रोतले जनाएको छ ।
यसैगरी एमालेले समानुपातिक ८ सांसदलाई पनि कारबाही गर्ने तयारी गरेको छ । यसअघि सोधिएको स्पष्टीकरणकै आधारमा उनीहरुलाई कारबाही गर्न लागिएको एमालेले जनाएको छ । देउवा सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए दल विभाजन गर्न पाउनेगरी प्रतिगामी अध्यादेश पारित गरेलगत्तै एमालेले केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लागेको हो ।