काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन गर्ने गरी सरकारले अध्यादेश ल्याए त्यो कदापि क्षम्य नहुने चेतावनी दिनुभएको छ । सोमबार अबेर राति पाँचबुँदे विज्ञप्तिमार्फत् अध्यक्ष ओलीले यस्तो चेतावनी दिनुभएको हो ।
अध्यक्ष ओलीले नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गरेर समाप्त पार्न खोजिएको बताउनुभएको छ । उहाँले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने ‘गम्भीर षड्यन्त्र’ भइरहेको बताउनुभयो । उहाँले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजित गर्नका लागि प्रतिनिधिसभा अन्त्य गरिएको दाबी गर्नुभयो ।
‘पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले) लाई विभाजित गर्ने पड्यन्त्र गरिँदैछ, एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन ।’
उहाँले पार्टी विभाजनको प्रयास असफल पार्न पार्टीका नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरुलाई अपिलसमेत गर्नुभएको छ ।
उता देउवा सरकारले अनुचित उद्देश्य पूरा गर्न छापामार शैलीमा संघीय संसद् अधिवेशन अन्त्य गरेको भन्दै सर्वत्र विरोध गरिएको छ । सरकारले संसद् अन्त्यबारे कुनै पनि दलसँग सल्लाह गरेकोमा राजनीतिक दलका नेताहरुले तीव्र असन्तुष्टि जनाएका छन् ।
कार्यव्यवस्था परामर्श बैठकमा अर्को अधिवेशन ३ भदौमा बोलाउने मिति समेत तय भए पनि आकस्मिक रुपमा संसद् अधिवेशन अन्त्य गरिएको छ । सोमबार प्रतिनिधिसभा बैठक शुरु हुनुअघि बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । बैठक चलिरहेकै बेला संसद् अधिवेशन अन्त्य भएको जानकारी गराइएको थियो ।
हेर्नुहोस् एमाले अध्यक्ष ओलीद्वारा जारी विज्ञप्ति