काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले अनुचित उद्देश्य पूरा गर्न छापामार शैलीमा संघीय संसद् अधिवेशन अन्त्य गरेको बताएको छ । राष्ट्रियसभाका एमाले प्रमुख सचेतक खिमलाल भट्टराईले संसद् अन्त्यबारे कुनै सल्लाह नगरिएको बताउनुभयो ।
प्रमुख सचेतक भट्टराईले भन्नुभयो ‘हामीलाई थाहा समेत दिइएन । कुनै सल्लाह गरिएन । छापामार शैलीमा संसद् अन्त्य गरियो।’ छापामार शैलीमा संसद् अन्त्य गरेर सरकारले अनुचित उद्देश्य पूरा गर्ने संकेत गरेको उहाँले आरोप लगाउनुभयो ।
यता एमाले प्रमुख सचेतक विशाल भट्टराईले पनि संसद् अधिवेशनबारे कुनै छलफल नगरिएको बताउनुभयो । कार्यव्यवस्था परामर्श बैठकमा अर्को अधिवेशन ३ भदौमा बोलाउने मिति समेत तय भए पनि आकस्मिक रुपमा संसद् अधिवेशन अन्त्य गरिएको उहाँले बताउनुभयो । सोमबार प्रतिनिधिसभा बैठक शुरु हुनुअघि बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । बैठक चलिरहेकै बेला संसद् अधिवेशन अन्त्य भएको जानकारी गराइएको थियो ।