काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपाल सरकारले नै भूपू गोर्खा सैनिकहरुलाई हतोत्साहित गरेको टिप्पणी गर्नुभएको छ । नेपाल सरकारले उनीहरुलाई हतोत्साहित गरेको भन्दै उहाँले सरकारप्रति खेद प्रकट गर्नुभएको छ ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा नेता रावलले १० दिनदेखि आमरण अनसनमा बसेका भूपू गोर्खाहरुको माग सम्बोधनका लागि बेलायत सरकारले वार्ता टोलीसमेत नबनाएकोमा आपत्ति जनाउनुभयो । समस्या समाधानका लागि अब नेपाल सरकारको सक्रिय संलग्नता रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले परराष्ट्र मन्त्रालयले भूतपूर्व गोर्खाहरुले आमरण अनसन गर्न सुहाउने कुरा होइन भनेर संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पत्र पठाएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘आफ्ना देशका नागरिकहरुको हकहितमा जोडदार आवाज उठाउनुपर्नेमा आफ्ना न्यायोजित माग उठाउने भूतपूर्व गोर्खाहरुलाई हतोत्साहित गर्ने गतिविधि गर्नु खेदजनक हो ।’
उहाँले भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि नेपाल सरकारको सहभागितामा यथाशीघ्र वार्ता समिति गठन गरी समस्या समाधान गर्न सरकारसँग जोडदार माग गर्नुभयो ।