काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला अब काठे खम्बामुक्त बन्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले जिल्लालाई काठे खम्बामुक्त बनाउन लागेको हो । प्राधिकरणको वितरण केन्द्र बनेपास्थित कार्यालयले विद्युतका काठका खम्बा विस्थापन गर्न बजेट मागसँगै कार्ययोजना अघि बढाएको जनाएको छ ।
विद्युतका लागि वर्षौअघि गाडिएका काठका खम्बा जीर्ण हुँदा सेवा अवरुद्ध हुँदै दुर्घटनासमेत हुन थालेपछि ती पोललाई विस्थापन गर्न लागिएको हो । हाल प्राधिकरणको वितरण केन्द्र, बनेपा र पाँचखाल वितरण केन्द्रले काठका खम्बा विस्थापन कार्य गरिरहेका छन् ।
“काठका खम्बा विस्थापन कार्य भइरहेको छ, आ–आफ्नो सेवा क्षेत्रका बाँकी खम्बा विस्थापन गर्न छुट्टै थप बजेट माग गरेका छौँ”, काभ्रे वितरण केन्द्रका प्रमुख इञ्जिनियर माधवेन्द्र यादवले भन्नुभयो । उहाँका अनुसार केन्द्रअन्तर्गत आठ स्थानीय तहका विद्युतका काठका खम्बा क्रमैसँग हटाउँदै फलामे राखिनेछ । काठका जीर्ण खम्बाका कारण विशेषगरी वर्षायाममा खम्बा भाँचिदा विद्युत् सेवा अवरुद्ध हुने र दुर्घटनासमेत हुने हुँदा काठका खम्बा विस्थापनमा योजनाबद्ध रुपमा लागेको उहाँले बताउनुभयो । उहाँका अनुसार आठ स्थानीय तहमा करिब पाँच हजार काठका खम्बा विस्थापन गर्नुपर्छ ।

























