काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित ढंगले अबिलम्ब स्वदेश फर्काउने व्यवस्था गर्न परमादेश सरकारसँग माग गरेको छ ।
राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाद्वारा आइतबार संयुक्त विज्ञप्तिमा भनिएको छ ‘तालिबानी विद्रोहीको आक्रमण बढ्दै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढ्दै गएको छ । यस अवस्थामा त्यहाँ रहेका नेपालीहरुको सुरक्षाबारे राप्रपा चिन्तित रहेको छ । तसर्थ अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।’
त्यसैगरी राप्रपाले बेलायती सेनामा काम गर्ने नेपालीहरुमाथि भेदभाव र असमानता कायमै रहेकाले यसको अन्त्य गर्न बेलायत सरकारसँग समेत अपील गरेको छ । ब्रिटिश सेनाका भूतपूर्व सैनिकहरुले उठाउँदै आएका मागप्रति ऐक्यबद्धता जनाउँदै राप्रपाले उनीहरुका माग पूरा बेलायत सरकारसँग आग्रह गरेको हो । त्यसका लागि कूटनीतिक प्रयास गर्न राप्रपाले नेपाल सरकारको पनि ध्यानाकर्षण गरेको छ ।