काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा कामबाट धेरै मानिसहरुको छाति जलेर असह्य भएको बताउनुभएको छ । उहाँले आफ्नो नेतृत्वको सरकारको लोकप्रियताबाट धेरैको छाति जलेर असहैय पीडा भएकाले त्यसको अभिव्यक्ति पोखिने गरेको बताउनुभयो ।
एक कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो,–‘पारदर्शी प्रतिस्पर्धाबाट राज्य संचालन,नातावाद र कृपावादको छायाँसम्म पर्न नदिने मेरा नीति रहेँकाले कसैको लाभ र ईच्छामा धक्का पुग्यो ।’
अपेक्षाअनुसार उहाँहरुको प्रयास पुरा भएन र तत्काल पुरा हुने पनि नदेखिँदा अहिलेको अवस्था आएको ओलीले बताउनुभयो । ‘म भ्रष्टाचार गर्दिन, अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न भन्ने कुराले धेरै ठूलो असजिलो पनि पैदा भयो होला, कतिलाई धक्का पनि पर्यो होला यस्तै कुराहरुले मेरा पार्टीभित्रै समस्या पैदा भयो, यो दुनियाँलाई थाहा छ ।’ अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुन जन्मिएको हैन, काम गर्दै जादाँ प्रधानमन्त्रीको जिम्मेवारी पाएको बताउनुभयो । उहाँले आफू जहिले पनि जनताको पक्षमा काम गर्ने भएकाले सत्ता नै चाहिन्छ भन्ने नभएको धारणा राख्नुभयो । राम्रा काम गर्दै जानेलाई जनताले सत्तामा पटक पटक पु-याउने विश्वास उहाँले व्यक्त गर्नुभयो । उहाँले राम्रा काम गर्नेहरुलाई कुनै पनि शक्तिले गलाउन नसक्ने बताउनुभयो ।