काठमाडौं । नेकपा एमालेका नेता एव विदेश विभाग प्रमुख डा. राजन भट्टराईले अफगानिस्तानमा रहेका नेपाली नागरिक स्वदेश फर्काउन पहल नगरेको भन्दै सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै उहाँले भन्नुभएको छ,–‘संसदमा विपक्षीका तर्फबाट बिषय उठाइएको पनि धेरै दिन भइसक्यो । अन्य मुलुकहरूले आ–आफ्ना नागरिक फर्काउन थालिसके । तर पनि सरकार अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन कुनै पहल गरिराखेको छैन । लोकतन्त्रमा सरकार यति गैरजिम्मेदार र अनुत्तरदायी हुन मिल्छ ? कि परमादेशबाट आएकालाई मिल्छ ? उहाँले परमादेश सरकारसँग अफगानिस्तानमा भएका नेपालीहरुलाई कहिले फिर्ता गर्ने भनी प्रश्न गर्नुभएको छ ।
अफगानिस्तानको राजधानी काबुलबाहेकका शहर तालिवान विद्रोहीको नियन्त्रणमा गइसकेका छन् । धेरै मुलुकहरुले आफ्ना देशका नागरिक धमाधम फिर्ता लगिरहेका छन् । तर पनि सरकारले कुनै चासो नदिएकोमा उहाँले आलोचना गर्नुभएको छ ।