काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाबारे छानबिन गरी कारबाही गर्न परमादेश सरकारलाई चुनौती दिनुभएको छ । उहाँले सो खरिद प्रक्रियामा आफूले कुनै गलत निर्णय नगरेको बताउनुहुँदै गल्ती भेटिए कारबाही भोग्न तयार रहेको बताउनुभयो । काभ्रेको बनेपामा नेपाल खेलकुद महासङ्घले आयोजना गरेको जिल्ला भेला कार्यक्रमलाई संवोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
नेता बास्कोटाले एमालेले आफ्नो सरकार हुँदा आफूलाई जोगाएको भन्ने आरोप लगाउनेहरूलाई छानबिन गर्न अपील गर्नुभयो । उहाँले आरोप लगाउनेहरू अहिले सरकारमा भएको भन्दै निष्पक्ष छानबिन गर्न माग गर्नुभयो । ‘अहिले एमाले र केपी ओलीको सरकार छैन, वर्तमान सरकारले ममाथि छानबिन गरोस्,’ बास्कोटाले भन्नुभयो । ‘ममाथि आरोप लगाउनेहरूकै सरकार छ, छानबिन गरेर कारबाही गरोस्’ बास्कोटाको भनाइ थियो ।
एक फरक प्रसंग उठाउँदै नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका बास्कोटाले पार्टी अनुशासन उलङ्घन गर्नेहरूलाई जनता र कार्यकर्ताले माफी नदिने बताउनुभयो ।
नेता बास्कोटाले वर्तमान सरकारले दार्चुलामा भारतीय एसएसपीले तुइन काटी हत्या गरिएका जय सिंह धामीको विषयमा बोल्न नसकेको बताउनुभयो । अहिलेको सरकारलाई कम्फर्टेबल सरकारको संज्ञा दिँदै पूर्व मन्त्री बाँस्कोटाले काभ्रेमा केपी ओली नेतृत्वको सरकारले विनियोजन गरेको बजेट कटाए काभ्रेली जनताले नछोड्ने बताउनुभयो । ‘कम्फर्टेबल सरकारले काभ्रेमा अघिल्लो सरकारले विनियोजन गरेको बजेट कटायो भने काभ्रेली जनताले छोड्दैनन्,’ उहाँले चेतावनी दिनुभयो ।