काठमाडौं । सत्ताधारी दल नेकपा माओवादी केन्द्रमा आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश भएको छ ।
शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ । भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रस्ताव बैठकमा पेश भएको छ ।
त्यसैगरी मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव रहेको एक केन्द्रीय सदस्यले बताउनुभयो । केन्द्रीय समितिको बैठकमा प्रचण्डले नै विधान संशोधनको प्रस्ताव पनि पेश गर्नुभएको छ । दुबै प्रस्तावमाथि छलफलका लागि केन्द्रीय सदस्यहरुलाई ८ वटा समूहमा बाँडिएको छ । समूहगत रुपमा भोलि विहानसम्म छलफल हुने र निष्कर्षहरु बैठकमा पेश गर्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताउनुभयो ।