दाङ । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालको ढाडमा टेकेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने कोसिस गरेको बताउनुभएको छ । शनिबार दाङमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पोखरेलले यस्तो बताउनुभएको हो ।
नेता पोखरेलले माओवादीका अध्यक्ष प्रचण्डले जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति अझै नछोडेको टिप्पणी गर्नुभयो । आफूहरुले भरोसा गरेर चुनावी गठबन्धनसँगै पार्टी एकता गरे पनि प्रचण्डले माधव नेपालको ढाडमा टेकेर अध्यक्ष ओलीको टाउकोमा हान्ने कोसिस गरेकाले तत्कालीन नेकपा खारेज भएको बताउनुभयो ।
‘पुष्पकमल दाहाल प्रचण्ड माओवादीका नेता,उहाँलाई आधार बनाएर हामीले चुनावी गठबन्धन गर्यौं । पार्टी एकता गर्यौं तर उहाँले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्नुभएको रहेनछ,’ नेता पोखरेलले भन्नुभयो, ‘माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोसिस गर्नुभयो ।’ आजको परिणामले त्यही पुष्टि भएको उहाँले बताउनुभयो ।
नेता पोखरेलले प्रचण्डमा रहेको अस्थिरता, अवसरवाद र महत्वकांक्षाको संयोजनका कारण देशमा अहिले अस्थिरता सिर्जना भएको बताउनुभयो ।