बुटवल । नेकपा एमालेले चार दलीय गठबन्धनलाई सघाएको भन्दै लुम्बिनी प्रदेशका दुईजना सांसदलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ ।
एमालेको चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपाको सूर्य चिन्हबाट जितेकी विमला वलीले नयाँ सरकार बनाउन दाबी गरेको निवेदनमा हस्ताक्षर गरेपछि कारबाही प्रक्रिया अघि बढाएको एमाले सचेतक भूमिश्वर ढकालले बताउनुभयो ।
ढकालले शाहीलाई लिखित स्पष्टीकरण सोध्नुभएको छ भने वलीलाई पार्टी अध्यक्ष केपी ओलीले पठाएको स्पष्टीकरण यसअघि नै बुझाएको उहाँले बताउनुभयो । सांसद वलीलाई यसअघि स्पष्टिकरण सोधिए पनि चित्तबुझ्दो जवाफ नआएपछि कारबाहीको प्रक्रिया अघि बढाएको ढकालले बताउनुभयो । एमालेले बहिस्कार गर्ने भनेको प्रदेशसभाको विशेष अधिवेशनमा उपस्थित शाही चार दलीय गठबन्धनको सरकारमा विनाविभागीय मन्त्री बन्नुभएको छ ।
नवलपरासी पश्चिम–१ ख बाट सूर्य चिन्हबाट चुनाव जितेका उहाँले वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर अर्को दिन फिर्ता लिएको बताउनुभएको थियो । उहाँसँगै विपक्षी गठबन्धनमा लागेका कपिलवस्तुका धर्मबहादुरलाल श्रीवास्तव एमाले फर्केर मन्त्री बनेपछि शाही असन्तुष्ट बन्नुभएको थियो । हृदयेश त्रिपाठी निकट शाहीले आफू सूर्य चिन्हबाट चुनाव लडे पनि स्वतन्त्र सांसद रहेकाले गठबन्धनमा सहभागी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सूर्य चिन्हबाट चुनाव जिते पनि म स्वतन्त्र सांसद हो, त्यसैले मैले गठबन्धनलाई समर्थन गरेको हुँ मलाई एमालेले कारबाही गर्ने भन्ने कुरा हुँदैन, यदि कारबाही गर्ने नै कुरा आएमा म अदालत जान्छु ।’
एमालेले कारबाही गर्ने भनेकी वलीले यसअघि नै पत्रकार सम्मेलन गरी माओवादी रोजेको जानकारी गराउनुभएको थियो । उहाँले आफूलाई मुख्यमन्त्री पोखरेल निवासमा ‘बन्धक’ बनाएर एमालेले पुराना माइन्युट र विज्ञप्तिहरुमा हस्ताक्षर गर्न बाध्य बनाएको आरोप लगाउनुभएको थियो ।