काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्ममा थप १ करोड २ लाख खोप नेपाल ल्याइसक्ने बताउनुभएको छ । हालसम्म १ करोड ८ लाख ६० हजार खोप प्राप्त भएको बताउँदै उहाँले १ महिनाभित्र त्यस बराबरको थप खोप आउने बताउनुभएको हो ।
बिहीवार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले अहिलेसम्ममा ४५ लाख ७० हजार ५५३ लाई पहिलो मात्रा र २८ लाख ८ हजार ३६० लाई दोस्रो मात्रा समेत गरी ७४ लाख ५ हजार ९१३ लाई कोभिडविरुद्ध खोप लगाइएको बताउनुभयो ।
अघिल्लो सरकारले ४२ लाखलाई मात्र खोप लगाएको तथ्यांक उल्लेख गर्दै उहाँले सरकारले प्रत्येक दिन डेढ लाखदेखि २ लाखलाई खोप लगाउन थालेको बताउनुभयो । यस हिसाबले असोजसम्ममा कुल जनसंख्याको ३३ प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने उहाँको दाबी थियो ।
कुल ३ करोड ३६ लाख ७१ हजार डोज खोप खरिदका लागि प्रक्रिया अघि बढाएको जानकारी दिँदै उहाँले माघसम्ममा कुल ३ करोड २३ लाख खोप ल्याउने लक्ष्य लिएको बताउनुभयो । लक्ष्यअनुसार उक्त संख्यामा खोप आपूर्ति भएमा नेपालमा उक्त अवधिसम्म कुल ५ करोड २२ लाख डोज आपूर्ति हुने जानकारी गराउनुभयो ।
उहाँले कोभिड संक्रमणको अवस्था र त्यसको न्यूनीकरणका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर चैतसम्म सबै नागरिकलाई खोप लगाइसक्ने सरकारको योजना रहेको बताउनुभयो । सांसद्हरूले संक्रमण दर बढ्दै गएको र दशैंतिहार मुखैमा आएकोमा आवतजावत बढ्ने बताउँदै दशैंतिहारअघि नै धेरैभन्दा धेरैलाई खोप लगाउनुपर्ने बताएका थिए ।




















