बुटवल । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले प्रदेश सरकारको दाबी प्रस्तु गरेका छन् । चार दलीय गठबन्धनले प्रदेश सरकारमा दाबी गर्दै दाबी प्रस्तुत गरेका हुन् । ४२ सांसदको हस्ताक्षरसहित गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका छन् ।
माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) लाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाउनुभएको जनाइएको छ ।
चार दलीय गठबन्धनमा हृदयेश त्रिपाठी समूहका अजय शाहीसमेत सहभागी भएको बताइएको छ । उहाँले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेको बुझिएको छ । सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका त्रिपाठी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री हुनुहुन्थ्यो ।
लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट केसीको पक्षमा स्पष्ट बहुमत देखिएकाले प्रदेश प्रमुख शेरचनले केसीलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने स्रोतले जानकारी दिएको छ ।
लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।