बुटवल । विपक्षी गठबन्धनले आज लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गर्दै छन् । मुख्यमन्त्री शङ्कर पोखरेलको राजीनामापछि नयाँ सरकार गठन प्रक्रिया सुरु भएपछि विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।

नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले दाबी पेस गर्ने भएका छन् ।

बुधबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि समय दिनुभएको थियो ।

प्रदेश प्रमुख शेरचनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई बहुमत दाबी पेस गर्न आज अपराह्न ३ः०० बजेभित्र आह्वान  गर्नुभएको छ । विपक्षी गठबन्धनबीच मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने सहमति बनिसकेकाले आज कार्यालय खुलेलगत्तै दाबी पेस गर्ने बताइएको छ ।

विपक्षी गठबन्धनले माओवादी (केन्द्र) का संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारेको छ । काँग्रेस र माओवादीबिच आठ/आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।