रूपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठन गर्नका लागि आव्हान गर्नुभएको छ । आज एक सूचना जारी गर्दै प्रदेश प्रमुख शेरचनले २४ घण्टाभित्र सरकार गठन गर्नका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दललाई आव्हान गर्नुभएको हो ।
प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यलाई दावी पेस गर्न भोलि अपरान्ह ३ बजेसम्मको म्याद दिनुभएको छ ।
आज मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गरेको अविश्वास प्रस्ताव दर्तामाथि छलफल राखिएको थियो । तर प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नुभएको हो ।