काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना आफ्नो रहेको बताउनुभएको छ । सिंहदरबारमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले एमसीसीमा राष्ट्रिय सहमति हुनुपर्ने बताउनुभयो ।
सभामुख सापकोटाले भन्नुभयो, ‘एमसीसीको विषयमा म तटस्थ ढंगले अध्ययन गरिरहेको छु, यो अगाडि बढाउने सन्दर्भमा म चाहन्छु, राष्ट्रिय सहमति होस्, किनभने यो जनताको घरघरमा पुगेको विषय छ ।’
यदि राष्ट्रिय सहमति हुन नसके पनि संसदमा भएका दलहरुबीच सहमति हुनुपर्ने र त्यो पनि नभए सत्ता गठबन्धनमा रहेका दलहरुबीच सहमति हुनुपर्ने सभामुख सापकोटाको भनाइ थियो । उहाँले आफू सिन्धुपाल्चोकको जुगल गाउँपालिका गएका बेला एकजना स्थानीयले तामाङ भाषामा कुराकानी गर्दै एमसीसी पारित गर्न नहुने बताएको स्मरण गर्नुभयो ।
एमसीसी सम्झौताबारे मंगलबार प्रतिनिधिसभाको बैठकमा पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको धारणा के हो भन्दै जवाफ माग्नुभएको थियो ।
सभामुख सापकोटाले एमसीसी किन प्रतिनिधिसभामा टेबुल नगरेको भन्ने पत्रकारहरूको सवालको जवाफ दिंदै के टेबुल गर्ने नगर्ने भन्ने सभामुखको निर्णय अन्तिम हुने बताउँदै राष्ट्रिय सहमति भएमात्र टेबुल गर्ने बताउनुभयो । राष्ट्रिय सहमति भएन भने पनि प्रतिनिधित्व गर्ने दलहरूबीचमा सहमति होस्, होइन भने गठबन्धनमा होस् सभामुखको भनाइ भन्ने चाहना आफ्नो रहेको बताउनुभयो ।
अमेरिकी सहयोग परियोजनासम्बन्धी सम्झौता अनुमोदनका लागि अहिले संसदमा विचाराधीन अवस्थामा रहेको छ ।