काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आज पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्ने सिलसिलामा उहाँलाई प्राधिकरणका कर्मचारीले भव्य स्वागत गरेका थिए ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । पदबहालीअघि घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा गएर चारवर्षे नियुक्तिपत्र लिनुभएको थियो ।
सरकारले घिसिङलाई कार्यकारी निर्देशक बनाएसँगै प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको पद (सचिव) सरहको पूर्णकालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय गरेको छ । त्यसका लागि आयोगको गठन आदेशमा समेत संशोधन गरिएको छ ।
सरकारले शाक्यले अहिले प्राधिकरणमा पाउँदै आएको तलब सुविधा नघट्ने गरी सो जिम्मेवारी दिने निर्णय गरेको हो । यसका लागि अर्थ मन्त्रालयले पनि सहमति दिएको छ ।