बुटवल । सत्तापक्ष नेकपा एमालेका सांसदहरु अनुपस्थित हुँदाहुँदै लुम्बिनी प्रदेशसभा विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश गरिएको छ ।
बैठकमा नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस्ताव पेश गर्नुभएको हो । उहाँले सम्बोधनको क्रममा सत्ता पक्षका प्रदेशसभा सदस्य अनुपस्थित रहेकाले धेरै नबोल्ने भन्दै अविश्वास प्रस्ताव पेश गर्नुभयो ।
आज बिहान बसेको एमाले संसदीय दलको बैठकले विशेष अधिवेशन अलोकतान्त्रिक तथा असंवैधानिक ढंगले बोलाइएकाले उपस्थित नहुने संकेत गरेको थियो ।
मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशनको बैठक सुरु हुनु अगावै मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको थियो । कांग्रेस, माओवादी, जसपा, राजमोसहितको विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको छ ।
लुम्बिनी प्रदेशसभामा हाल ८० सदस्य रहेका छन् । तीमध्ये सभामुखसहित विपक्षी गठबन्धनका ४२ जना सांसदहरु छन् भने एमालेका ३८ जना सांसदहरु रहेका छन् ।