बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिनुभएको छ । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उहाँले राजीनामा दिनुभएको हो ।
मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउन जानुभएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो ।
सरकार अल्मतमा रहेको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १९ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्री पोखरेलविरूद्ध दर्ता भएको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए ।
लुम्बिनी प्रदेशसभामा हाल ८० सदस्य रहेका छन् । तीमध्ये सभामुखसहित विपक्षी गठबन्धनका ४२ जना सांसदहरु छन् भने एमालेका ३८ जना सांसदहरु रहेका छन् ।