काठमाडौँ । लुम्बिनी प्रदेशको विशेष अधिवेशन आज बस्ने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन आह्वान गरिएको हो ।
प्रदेशसभा भवन बुटबलमा दिउँसो १ बजे बैठक बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ । विपक्षी दलहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १८ गते प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् । अविश्वासको प्रस्तावपछिको कदमबारे निर्णय गर्न एमाले लुम्बिनी प्रदेशले संसदीय दलको बैठक बोलाएको छ ।
दलको बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने या राजीनामा दिने भन्ने टुंगो लगाउने सरकारका प्रवक्तासमेत रहेका बैजनाथ चौधरीले बताउनुभयो । विपक्षी गठबन्धनले प्रदेशसभा सदस्यलाई होटलमै राखेका छन् ।