काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद खिमलाल भट्टराईले परमादेशबाट सत्तारुढ बनेको नेपाली कांग्रेस विचारधाराको हिसावले मृतप्राय: भइसकेको बताउनुभएको छ । उहाँले बीपी सँगसँगै उसको नीति सकिएको बताउनुभयो ।
मंगलबार राष्ट्रियसभामा विशेष समयमा बोल्दै नेता भट्टराईले यस्तो धारणा राख्नुभएको हो । कांग्रेसले लिपुलेक, कालापानी हाम्रो हो भन्न नसकेर समस्या मात्र ठानेको उल्लेख गर्दै उहाँले भन्नुभयो ‘यो सरकारले त्यो विषयमा केही गर्न सक्दैन । मान्छे दिनदहाडै मारिन्छ कांग्रेस बोल्न सक्दैन ।’
एमाले नेता भट्टराईले अगाडि थप्नुभयो, ‘कांग्रेस कुहिरोको काग भएको छ । माओवादी वैशाखीको खोजीमा छ । माओवादीका साथीहरुले समीक्षा गरे हुन्छ, कहिले एमालेको पछि लागेर कहिले कांग्रेसको पछि लागेर आफ्नो अस्तित्वको रक्षा गर्नुपरेको छ ।’
कांग्रेस असाध्यै दयनीय स्थितिमा रहेको भन्दै उहाँले सरकारमा छँदा बलियो भएको हो कि भन्ने लाग्न सक्छ तर त्यो भ्रममात्र भएको टिप्पणी गर्नुभयो ।तर, एमाले अध्यक्ष केपी शर्मा ओली राजनेता ठहरिएको उहाँको दाबी छ ।
‘केपी ओली सिंहदरवार, बालुवाटार छोडेर बालकोट जानुभएको छ । तर, सदनमा आउँदा उहाँकै चर्चा सुनिन्छ । सरकार बनिराखेको छैन । यसको पछाडि पनि केपी ओलीकै फोबिया छ कि जस्तो लाग्छ । सडकमा पनि आश लागेको नेतालाई गुटबन्दीबाट हटाउने काम भयो भन्ने छ, राजनेता भनेको के होला ? भन्ने लाग्थ्यो । राजनेता भएपछि राजनीति उसकै वरीपरी घुम्दोरहेछ । सडक, सदन र सरकार सबै उसको गाइडेन्समा हिंड्नुपर्ने हुँदोरहेछ ।’




















