काठमाडौँ । कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई आजबाट दोस्रो मात्रा लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको खोप महाशाखाका अनुसार यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई अस्ट्राजेनेका खोप लगाउन लागिएको हो ।
भुटान सरकारले दिएको २ लाख ३० हजार डोज र जापान सरकारले खोप उपलब्ध गराएको करिब आठ लाख डोज खोप आएपछि ज्येष्ठ नागरिकलाई आजदेखि दोस्रो डोज खोप लगाइन लागेको हो । ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले यसअघि कोभिशिल्डको पहिलो डोज लगाए पनि भारत सरकारले दोस्रो डोज नदिँदा १३ लाखभन्दा बढीले खोप लगाउन पाएका थिएनन् । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १२ वटा स्थानीय तहमा खोप केन्द्र तोकेको छ ।





















