काठमाडौँ । सत्ता गठबन्धनका तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले विश्वभर फैलिएको कोरोना महामारीको नयाँ नयाँ भेरियन्ट आएझैँ नेपालमा प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्ने चेतावनी दिनुभएको छ । सामाजिक सञ्जालमार्फत् नेता डा. भट्टराईले असंवैधानिक भेरियन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा ‘अर्ली इलेक्सन’ भेरियन्ट आउन सक्ने चेतावनी दिनुभएको हो ।
”कोरोनाझैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ है! पहिलो असंवैधानिक भेरियन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरियन्ट आउन सक्छ! पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रोचाहिँ संविधानको आत्मा मार्ने गरी आउन सक्छ । अतः ढुक्क भएर आ–आफ्ना पार्टी वा गुटतिर नफर्कौँ!” उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
नेता भट्टराईले ढुक्क भएर आफ्नै विगतका गुट वा पार्टीमा नफर्कनसमेत आग्रह गर्नुभएको छ । पछिल्लो समय नेकपा एमालेमा एकता प्रयास जारी रहेका बेला उहाँको यो भनाइले पार्टीहरू एकता हुन नहुनेतर्फ संकेत गरेको छ ।