दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ तिङ्करस्थित छायालेकमा सशस्त्र प्रहरीको भवन निर्माणको काम पूरा भएको छ । चीनसँग सीमा जोडिएको तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाका लागि भवन निर्माण गरिएको हो । चीनको ताक्लाकोटसँग जोडिएको तिङ्करमा स्थापना गरिएको यो पहिलो बीओपी हो । त्यही क्षेत्रमा नेपाल प्रहरी पनि बस्दै आएको छ ।
तिब्बत भएर हुने चोरी, शिकार, तस्करी, नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई निगरानी तथा नियन्त्रण गर्न बीओपी निर्माण गरिएको हो । छायालेकबाट नेपाल चीनको सीमा पिलर नं १ सम्म पुग्न चारदेखि पाँच घण्टा लाग्ने गर्छ । यसअघि छाङ्गरुको गागामा रहेको सशस्त्र प्रहरीले पिलर नं १ सम्म गस्ती गर्दै आइरहेको थियो ।
छालालेकमै बीओपी स्थापना हुने भएपछि चीनसँग सीमा क्षेत्रमा गस्ती गर्न सहज हुनेछ । छायालेकमा बीओपीको भवन निर्माण धुलिखेल प्याराडाइज एलवी जेभीले गरेको हो । गत जेठमै निर्माण सक्नुपर्ने भए पनि प्रतिकूल मौसम र विभिन्न कठिनाइका कारण केही ढिला गरी निर्माण सकिएको छ ।
गत पुसमा सशस्त्र प्रहरी र धुलिखेल प्याराडाइज एलवी जेभीबीच बीओपी निर्माणको सम्झौता भएको थियो । ६ महिनाभित्र निर्माण कार्य पूरा गर्ने सम्झौता भए पनि निर्माण सामान ढुवानी गर्न समस्या भएपछि निर्माण कार्य केही ढिलाइ भएको निर्माण व्यवसायी लालबहादुर बमले बताउनुभयो ।
सडक मार्गसँग नजोडिएको तिङ्करमा मान्छेबाट निर्माण सामग्री ढुवानी गर्न सम्भव थिएन भने भारतबाट सामान लिन पनि सकस भएको थियो । निर्माण व्यवसायीले गत असारमा हेलिकप्टरमार्फत सामान ढुवानी गरेर निर्माण कार्य पूरा भएको स्थानीयवासी योगेश बोहराले बताउनुभयो ।
यस्तै सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गुल्म छाङ्गरुको भवन निर्माण कार्य भने अझै अलपत्र छ । १५ महिनाभित्रै निर्माण सक्नुपर्ने भवनको अहिलेसम्म भुइँतला मात्रै निर्माण गरिएको छ । (रासस)