काठमाडौं । भूमिहीन सुकुम्बासी संगठनले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा आइतबार काठमाडौंको कोटेश्वरमा व्यापक रुपमा प्रदर्शन गरेको छ ।
नेकपा एमालेकी नेतृ शान्ता चौधरीको नेतृत्वमा भएको सो प्रदर्शनमा परमादेश देउवा सरकारले खारेज गरेको भूमि आयोग अबिलम्ब पुनर्स्थापना गर्नुपर्ने माग गरिएको छ ।
सो प्रदर्शनमा उनीहरुले ‘सम्पूर्ण भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी एक हौ, भूमिसम्बन्धी समस्या समाधान आयोग पुन: स्थापना गर’ भन्दै नाराबाजी गरेका छन् ।
नेपाल भूमिहीन सुकुम्बासी संगठनकी अध्यक्ष शान्ता चौधरीले सरकारले भूमि आयोग पुन:स्थापना नगरे थप आन्दोलनलाई सशक्त पार्ने चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘ सरकारले भूमि आयोग खारेज गरेर सुकुम्बासीमाथि कुठाराघात गरेको छ। सोहीविरुद्ध हाम्रो आन्दोलन हो । यो अभियानलाई हामी अझ सशक्त रुपमा अगाडि बढाउँछौं।’
https://youtu.be/DXlpqxDKjsc
पूर्व प्रधानमन्त्री केपी शर्मा शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्न देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २ वैशाख २०७७ मा आयोग गठन गरेको थियो । तर देउवा सरकारले १९ साउनमा सो आयोग खारेज गर्ने निर्णय गरेको थियो ।
देउवा नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेपछि देशव्यापी रुपमा सुकुम्वासीहरु सडकमा उत्रिएर विरोध गरिरहेका छन् । देउवा सरकारबाट भूमिहीनले पुर्जा होईन आँशु पाए, हाँसोको सट्टा रोदन पाए लेखिएको व्यानरसहित उनीहरु विरोधसभामा निस्किएका हुन् । विरोधमा उत्रिएका भूमिहिन सुकुम्वासीले, स्यावास कम्फरटेवल सरकार स्याबास । महलमा बस्ने सामन्तवादले झुपडी अटाउने टुक्रा चाहिनेको चित्कार सुन्दैन, यो सरकार सामन्तवादको प्रतिनिधित्व गर्ने सरकार हो, त्यसैले सर्बहाराको पीडा देख्दैनलगायतका नारा लगाएका थिए । भुमि समस्या समाधान आयोग खारेजीले भुमिहिन सुकुम्बासी जमिन पाउनबाट बन्चित भएका छन् ।




















