काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्यपछि मात्र भूमिहीनको समस्या हल हुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै गौतमले यस्तो धारणा राख्नुभएको हो ।
सांसद गौतमले भूमिसुधार लागु गरेर सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ । उहाँले व्यक्तिगत जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्नुपर्ने र भूमि उपयोगको नीति बनाउनुपर्ने बताउनुभयो ।
‘जमिनमाथि व्यक्तिगत स्वामित्व जहिलेसम्म हुन्छ, त्यसबेलासम्म एकथरि मानिस त्यसलाई उपयोग गरेर धनी हुने, अर्काथरि मानिसहरु सुकुम्बासी हुँदैहुँदै जाने,’ उहाँले भन्नुभयो ।
गौतमले भन्नुभयो, ‘व्यक्तिगत जमिनलाई सरकारले किन्ने अनि त्यसलाई लिजमा दिने र त्यो कहाँनेर कसरी उपयोग गर्ने भन्ने ठाउँमा हामी नजाँदासम्म हामीले जमिनको सदुपयोग गर्न पनि सक्दैनौं र हामीले भूमिहीन र सुकुम्बासी जन्माउने प्रक्रिया पनि बन्द गर्न सक्दैनौं ।’ जग्गामा व्यक्तिगत स्वामित्व कायम रहेसम्म भूमिहीन बन्ने प्रक्रिया जारी रहने उहाँको भनाइ छ ।
‘नेपालको कृषि भूमि छ, त्यहाँ एक टुक्रा पनि जमिनदारी जमिन छैन । त्यो सबै अनेक–अनेक हिसाबले रगत पसिना बगाएको पैसाबाट लिएको जमिन छ,’ गौतमले भन्नुभयो, ‘त्यो जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्ने अनि त्यसलाई लिजमा दिने र त्यो कहाँनेर कसरी उपयोग गर्ने भन्ने ठाउँमा हामी नजाँदासम्म हामीले जमिनको सदुपयोग गर्न पनि सक्दैनौं र हामीले भूमिहीन र सुकुम्बासी जन्माउने प्रक्रिया पनि बन्द गर्न सक्दैनौं ।’
गौतमले एउटा भूमि आयोग विघटन गरेर अर्को आयोग गठन गर्नुको कुनै औचित्य नहुने भन्दै त्यसो नगर्न सरकारलाई सुझाव दिनुभयो ।




















