काठमाडौं । कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको छ ।
शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताउनुभयो । कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले स्थगित गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिलेलाई स्थगित गरेका छौं । बाँकी परीक्षा हुन पन्ध्र दिनअघि सूचना जारी गरेर जानकारी दिने निर्णय भएको छ ।’
यसअघि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण बढ्दै गएकाले तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो ।
उता विद्यार्थी संगठन र अभिभावकहरुले सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिडविरुद्धको खोपको व्यवस्थापन गर्न, व्यवस्थापन गर्न नसक्ने भए परीक्षा स्थगित गर्न माग गर्दै आएका थिए ।
केही दिनअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण बढ्दै गए भौतिक रुपमा परीक्षा नगरी आन्तरिक मूल्याङ्कनबाट गर्न गर्न सकिने बताउनुभएको थियो । तर राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको र परीक्षा हुने बताउँदै आएको थियो ।
परीक्षा आउन एक हप्ता बाँकी हुँदा स्वास्थ्य मन्त्रालयको सिफारिसमा सीसीएमसीले परीक्षाको नयाँ मिति तय गर्न अनुरोध गरेपछि बोर्डले पनि त्यहीअनुसार तत्काललाई स्थगित गरेको छ ।




















