काठमाडौँ । सरकारले कोरोना सङ्क्रमणको महामारी नियन्त्रणका लागि आजदेखि देशभर एक हप्ता नेपाल मास्क अभियान सञ्चालन गर्ने भएको छ ।
आजदेखि साउन २९ गतेसम्म नेपाल मास्क अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता‚ मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ अभियान सुरु गरेको हो ।
कोरोना भाइरसको जोखिम कायमै रहेकाले सबै नागरिकलाई सही तरिकाले मास्क लगाउने व्यवहारलाई प्रवर्द्धन गरी प्रोत्साहन र उत्प्रेरित गर्न नेपाल मास्क अभियान सञ्चालन गर्न लागेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले जानकारी दिनुभयो ।
डा.थपलियाले निषेधाज्ञा खुकुलो भएसँगै भेटघाट बढेको, मिचिमिची हात धुने र मास्कको उचित प्रयोगमा हेल्च्याक्र्याई भइरहेको तथा सबै नागरिकलाई समयमा नै खोप लगाउन नसकिएका कारण जुनसुकै बेला पनि संक्रमण बढ्नसक्ने बताउनुभयो ।




















