काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले कोरोनाको सङ्क्रमण बढ्दो क्रममा रहेकाले त्यसको सामनाका लागि आवश्यक तयारीमा रहन विभिन्न मन्त्रालयका सचिव तथा मातहतका अधिकारीलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा गृहसचिव, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव, स्वास्थ्य तथा जनसङ्ख्या सचिवलगायत गृहमातहतका निकायका अधिकारीसँगको छलफलमा उहाँले चुनौतीपूर्ण अवस्था आउन सक्नेतर्फ सचेत भएर काम अघि बढाउन निर्देशन दिनुभएको हो ।
मन्त्री खाँणले भन्नुभयो, “अघिल्लो लहरको कोरोनामा अस्पतालहरुमा बेड थिएन, औषधि थिएन, पूर्वतयारी थिएन यदि अर्को लहर आयो भने अस्पतालको बार्दलीमा पनि स्थान हुदैन, त्यसैले समय हुँदा नै सबै निकाय पूर्वतयारीमा रहनुपर्छ ।”
गृहमन्त्री खाँणको अध्यक्षतामा बसेको उक्त बैठकमा काठमाडौँ, ललितपुर र भक्तपुरका प्रजिअ, नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, एमसीसी कार्यकारी प्रमुख, अध्यागमन विभाग महानिर्देशकसमेतको सहभागिता थियो ।
बैठकमा मन्त्री खाँणले मास्कको प्रयोग पर्याप्त नभएकोले त्यसको प्रयोग बढाउनेतर्फ नागरिकलाई सचेत बनाउन पनि आग्रह गर्नुभएको छ । “भयावह अवस्था आउँदा स्थिति नाजुक हुन्छ, सबैलाई गम्भीर हुन मेरो आग्रह छ, मास्कमा भरोसा रहेकाले उपयोगमा जोड दिनुपर्छ”, गृहमन्त्री खाँणले भन्नुभयो ।
उहाँले मातहतकाका निकायले गम्भीरतापूर्वक काम नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले क्वारेन्टिन होटलमा विदेशबाट आएका मानिसको नाममा बुकिङ भए पनि हेर्न जाँदा मान्छे नभएको जानकारीमा आएको बताउँदै वैदशिक रोजगारबाट आएका नागरिकबाट बढी जोखिम हुने पनि बताउनुभयो ।




















