काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवन तोकिएको समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
शुक्रबार निर्माणाधीन संसद् भवनको अवलोकन गर्दै तोकिएको समयमै निर्माण सम्पन्न गर्न सबै उपाय अपनाउन निर्देशन गर्दै उहाँले त्यसका लागि आफ्नो साथ र सहयोग रहने बताउनुभयो । उहाँले प्रतिकूलताका बीच पनि निर्माण कार्यले गति लिएको र आगामी दिनमा पनि समन्व्यात्मक ढङ्गले काम गर्न निर्देशन दिनुभयो । दुई वर्षभित्र निर्माण गर्नुपर्ने अवस्था रहेपनि तीव्र गतिमा काम भए तोकिएभन्दा चाँडो काम सम्पन्न हुने उहाको भनाई छ । उहाँले कामको रफ्तार बढाउन पनि आयोजनासँग आग्रह गर्नुभयो । भवन निर्माणमा संलग्न कामदारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पनि आफूले पहल गर्ने उहाँले बताउनुभयो ।
सो क्रममा भवन निर्माण परियोजनाका प्रमुख दिलीपशेखर श्रेष्ठले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ३२.५ प्रतिशत पुगेको बतायनुभयो । सम्झौताअनुसार नयाँ संसद् भवन २०७९ असोज १५ गतेभित्र सम्पन्न हुनुपर्नेछ । भवन निर्माणमा २२ महिना व्यतित भइसकेको छ । कोरोनाका कारण निर्माण अवधि छ महिना थप गरिएको छ । आयोजनाको कूल लागत रु छ अर्ब दुई करोड रहेको छ । सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा, सचिवालय, दलका कार्यालय, पुस्तकालय, चमेनागृहलगायत अत्याधुनिक संरचना हुनेछन् ।
https://youtu.be/eAVFS-Czat8