चितवन । सत्ताधारी दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी भदौमा १४ औं महाधिवेशन नहुने बताउनुभएको छ । आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका देखिएको मतभेदका कारण महाधिवेशन सम्भव नरहेको बताउनुभयो ।
महामन्त्री कोइराला भन्नुभयो, ‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ।’ पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उहाँले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्ने बताउनुभयो । कांग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरूको माग रहेको उहाँले बताउनुभयो ।
महामन्त्री कोइरालाले भन्नुभयो,‘पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु । संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ । सबै निर्वाचन लडे हारिन्छ। एउटामात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ ।’
फरक प्रसंगमा उहाँले आफू मन्त्रिमण्डलमा सहभागी नहुने र बाहिर बसेर सरकारलाई सहयोग गर्ने बताउनुभयो ।