काठमाडौं । सत्ताधारी गठबन्धन कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरुसमक्ष प्रस्तुत गरेको छ । नेताहरुले अध्ययन गरेर फाइनल गर्ने र छिट्टै सार्वजनिक गर्ने बताएका छन् ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदामा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिताको छानविन गर्ने र दोषीलाई कानूनी कारबाही गर्ने उल्लेख छ ।
यस्तै शान्ति प्रक्रियाका बाँकी कामलाई यथाशीघ्र सम्पन्न गर्न सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको ऐन संशोधन गर्ने पनि न्यूनतम साझा कार्यक्रममा जनाइएको छ । राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, मधेस आन्दोलनका बेला लगाइएका मुद्दाहरु पुनरवलोकन गरी अन्यायपूर्वक बन्दी बनाइएकाहरुलाई रिहा गर्ने पनि रहेको बताइएको छ ।