काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनामा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वानुमान गरेको छ । मन्त्रालयले यसपछाडि कोरोना संक्रमितको संख्या क्रमशः घट्दै जाने प्रक्षेपण समेत गरेको छ ।
मन्त्रालयले यो संख्या घट्दै गएर मंसिर महिनासम्ममा २५ हजार पुग्ने बताएको छ । स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले बिहीबार संसदको शिक्षा स्वास्थ समितिमा पेश गरेको विवरणमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोज महिनामा ३८ हजार ५ सय ९७ जना नयाँ संक्रमित थपिने उल्लेख छ । मंसिर महिनामा यो संख्या अझै घटेर २५ हजार १८३ पुग्ने सम्भावना रहेको लोहनीले बताए ।
साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको लोहनीले पेश गरेको विवरणमा उल्लेख छ ।
पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितहरुमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने बताएको छ । तीमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने लोहनीले उल्लेख गर्नुभयो ।




















