काठमाडौं । देउवा नेतृत्वमा गठित परमादेश सरकारले परीक्षामा अनियमितता गर्ने व्यक्तिलाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्त गरेको छ । शिक्षा सेवाका अवकाशप्राप्त भ्रष्टाचारका आरोपी सहसचिव डा. डिल्लीराम रिमाललाई गत मंगलबारको मन्त्रिपरिषद बैठकले शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त गरेको हो ।
परीक्षामा अनियमितता गरेको आरोपमा अख्तियारले २०६३ साल कार्तिक १७ गते शिक्षक सेवा आयोगलाई ध्यानाकर्षण गर्दै पत्र पठाएको थियो भने अनुचित कार्य गरेको आरोपमा रिमाललाई पाँच वर्ष परीक्षा प्रक्रियामा संलग्न नगराउन प्रतिवन्धात्मक व्यवस्था गर्नू भनी पत्राचार गरेको थियो ।
शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०६१/६१ सालमा माध्यम तहका शिक्षकहरुको विज्ञापन खोलेको थियो । त्यसैको परीक्षाका लागि लेखाको प्रश्नपत्र निर्माण, मोडरेसन र उत्तरपुस्तिका परीक्षणलगायतका सबै काममा तत्कालीन उपसचिव डिल्लीराम रिमाल संलग्न भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो, अनि छानबिन शुरु भयो ।
अख्तियारको अनुसन्धान प्रतिवेदन अनुसार, लेखाको प्रश्नपत्र निर्माण र मोडरेसनमा विशेषज्ञको रुपमा शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव डिल्लीराम रिमाल संलग्न थिए । ‘सोही विषयको उत्तरपुस्तिका परीक्षणको कार्य पनि निज डिल्लीराम रिमालले नै गरेको देखियो’ प्रतिवेदनमा भनिएको छ, ‘लेखा विषयकै परीक्षामा निज डिल्लीराम रिमालकै भाइ नाता पर्ने लेखनाथ रिमाल पनि उम्मेदवार भएको र निजले लिखित परीक्षा उत्तीर्ण गरी अन्तरवार्तामा सामेल समेत भएको पनि छानविनबाट देखिन आयो ।’
आफ्नो कुनै नातेदार परीक्षामा संलग्न भएमा प्रश्नपत्र निर्माण, परीक्षा सन्चालन, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन गर्ने लगायतका प्रक्रियामा संलग्न हुन पाइँदैन ।
अख्तियारले त्यसबारे पहिले नै कार्यविधि बनेको औंल्याएको थियो । हुन पनि शिक्षक सेवा आयोगको कार्यविधि २०५९ मा आफ्नो नाता पर्ने कुनै व्यक्ति परीक्षामा सम्मिलित हुने सम्भावना भएमा सोको विवरण समेत खोली पठाउनुपर्ने व्यवस्था थियो । यति थाहा हुँदाहुँदै पनि रिमालले परीक्षामा प्रक्रियामा आफ्नो संलग्नता त्यागेका थिएनन् ।
अनुसन्धानपछि अख्तियारले ‘सो परीक्षाको क्रममा निर्विवाद रुपमा स्थापित हुनुपर्ने गोपनीयता र निष्पक्षता जस्ता परीक्षाका स्थापित एवं सर्वस्वीकृत मूल्य र मान्यताहरुको पालना भएको भन्न सकिने अवस्था देखिएन’ भनी निष्कर्ष निकालेको थियो ।
रिमालले कतिसम्म गरेका थिए भने सिराहाको जिल्ला शिक्षा अधिकारीको रुपमा काम गर्दा बिदा लिई काठमाडौं आएका थिए र लेखाको उत्तरपुस्तिका परीक्षण गरेका थिए । उनले बयानमा त्यो कुरा स्विकारेका थिए । लेखा विषयका सम्पूर्ण उत्तरपुस्तिकाहरु एउटै पोकामा राखी कोडिङमार्फत परीक्षण गराएका थिए । त्यो काममा उनको संलग्नता रहेको भनी शिक्षक सेवा आयोगले नै अख्तियारलाई जवाफ लेखेको थियो । करिव १५ वर्षपछि तिनै विवादास्पद पृष्ठभूमिका रिमाल शिक्षक सेवा आयोगको सदस्य बनेका हुन् ।
हेर्नुहोस् अख्तियारको प्रतिवेदन






















