काठमाडौँ । नेपाल क्रिकेट एसोसियसन(क्यान)ले ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको छ ।
बन्द प्रशिक्षणका लागि ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आशिफ सेख, गुल्सन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, कमल सिंह ऐरी, अभिनाश बोहोरा, शाहब आलम, सुसान भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सरार्फ र रोहितकुमार पौडेल परेका छन् । तीव्र गतिका युवा फास्ट बलर गुलसन झा पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छनोट हुनुभएको छ ।
युवा ब्याट्सम्यान रोहित कुमार पौडेल टोलीमा फर्किनुभएको छ । अन्तिम–२० टोलीमा पूर्व कप्तान पारस खड्काको नाम पनि समावेश थियो । पारसले मंगलबार मात्रै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि भने उहाँ बन्द प्रशिक्षणमा समावेश हुनुहुने छैन । विश्वकप लिग–२ अन्तर्गतको यो खेल तालिका यस वर्षको मार्च १९ देखि २८ सम्म हुने खेल तालिका रहेको थियो । कोभिड १९ का कारण यो वर्ष फ्रेब्रुअरीमा सिरिज स्थगित भएको थियो ।
नेपालले विश्वकप लिगअन्तर्गत एकमात्र सिरिज गत वर्षको फ्रेब्रुअरीमा ओमान र अमेरिकासँग घरेलु मैदानमा खेलेको थियो । उक्त सिरिजमा नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गर्दा ओमानसँग भने दुई खेलमा पराजित भएको थियो ।