बुटवल । लुम्बिनी प्रदेशका सत्तालोलुपहरुले फेरि मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । लुम्बिनी प्रदेशका काँग्रेससहितका सत्तालोलुप विपक्षी गठबन्धन दलका सांसदहरुले नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखसँग माग गरेको भोलिपल्ट मङ्गलवार दिउँसो लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन ।
विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका केही सत्ताका प्यासी सांसदहरुले मङ्गलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । यद्यपि उनीहरुसँग बहुमत पुग्ने सम्भावना छैन । सोमबारमात्र सांसद विमला वलीले आफू नेकपा एमालेमै फर्किएको घोषणा गरेपछि सत्तालोलुपहरुको पक्षमा बहुमत नभएको प्रदेशसभाका सांसदहरुले घोषणा गरेका छन् । त्यसैले मुख्यमन्त्री पोखरेललाई सो अविश्वास प्रस्तावले कुनै फरक नपर्ने उनीहरुले बताएका छन् ।
लुम्विनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरलाई प्रदेशसभाका केही सत्ताभोगी सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । सो अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री बनाउने प्रस्ताव गरिएको छ ।
जनताको इच्छा विपरीत जनादेश प्राप्त बहुमतको सरकारलाई हटाएर सत्ताको फोहोरी खेलमा लिप्त विपक्षी गठवन्धनले यसअघि पनि प्रदेशसभामा पटकपटक अविश्वास प्रस्ताव दर्ता गरे पनि त्यो पारित हुन सकेको थिएन ।
सोमबारमात्र सत्तामा आँखा गाडेका गठबन्धन दलहरुले मुख्यमन्त्री पोखरेल नेतृत्वको वर्तमान सरकारलाई अवैधानिक र अल्पमतमा परेको आरोप लगाउँदै आफूहरुको सरकार गठन गर्न प्रदेश प्रमुख अमिक शेरचनसँग माग गरेका थिए ।