काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आन्तरिक विवाद समाधान हुने दिशातर्फ पुग्न लागेकै बेला एकता हुन नदिन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तगारो बन्न पुग्ने गरेको उनका विगतका गतिविधिले देखाएकै छन् । जब जब एमाले पार्टीभित्र समाधानका संकेतहरु देखा पर्दछ तब एकताविरोधी प्रचण्ड बीचमा तगारो बन्न पुगिहाल्छन् ।
त्यसैको सिलसिला फेरि दोहोरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता भएको छ । यसअघि नेपालनिवास कोटेश्वरमा दुई नेताबीच भेट हुने गरेकोमा आज कोटेश्वरकै एक व्यवसायीको घरमा माधव नेपाललाई भेट्न प्रचण्ड पुगेका हुन् । सत्ता साझेदार दलहरुले एमालेको नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेको बेला प्रचण्डले नेता नेपाललाई भेटेका हुन् । सकेसम्म नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । सुरुका छलफलहरुमा नेपालले सरकारमा सहभागी हुने बचन दिए पनि पछिल्ला दिनहरुमा आन्तरिक एकताको प्रयास भइरहेकाले सरकारमा नजाने बताउने गरेका छन् ।
यद्यपि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालको भेट हुने भनिएको छ । कतिबजे कहाँ भेट्ने स्थानको भने अहिलेसम्म टुंगो लागिसकेको छैन । तर अध्यक्ष ओली र माधव नेपालबीच आज साँझसम्म भेटवार्ता हुने नेता सुवास नेम्वाङ्गले बताएका छन् । एमाले अध्यक्ष ओलीले आजै नेपालसँग भेटवार्ताको तयारी गरिरहेका बेला माधव नेपाललाई प्रचण्डले भेट गरेका हुन् । एकताविरोधी प्रचण्डलाई एमाले एकता भइहाल्छ कि भन्ने कतिविघ्न चिन्ता । त्यसैले उनलाई सधैं छटपटी भइरहन्छ । तर अर्काको पार्टीमा विग्रह गराउने अधिकार प्रचण्डलाई किमार्थ छैन ।