काठमाडौँ । एमाले नेता माधवकुमार नेपाललाई मन्त्रिपरिषद् विस्तारमा बाधक बनेको आरोप सत्तागठबन्धनका नेताहरुले लगाएका छन् । नयाँ सरकार गठन भएको तीन साता बितिसकेको र सरकार विस्तारमा माधव नेपालको चरित्रका कारण असफल बन्दै गएपछि उनीहरुले माधवकुमार नेपाललाई मन्त्रिमण्डल विस्तारमा तगारो बनेको बताएका हुन् । सत्तागठबन्धनका नेताहरुले नेपाल पक्षलाई सरकारमा ल्याउने कसरतकै कारण मन्त्रिपरिषद् विस्तारमा विलम्ब भएको दाबी गरेका छन् । नेता नेपालको चरित्रलाई उनीहरुले पार्टीको आन्तरिक बैठकहरुमा समेत खुलेर विरोध गर्न थालिसकेका छन् ।
नेकपा एमाले पार्टीभित्रको विवाद र सरकार विस्तारमा विभिन्न शर्त राख्ने नेता नेपालले पार्टी र सरकार विस्तारमा निकास दिनुको साटो द्वैध चरित्र देखाएको गठबन्धन दलका नेताहरुले आरोप लगाएका छन् । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन माधव नेपालले गरेको गद्दारीलाई लिएर उनको एमालेभित्र खुबै विरोध भएको छ ।
आफ्नै पार्टीको सरकार ढाल्न अनेक तिकडम रच्न दीलोज्यान दिएर मरिमेटेका माधव नेपालकै कारण प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेस अहिले सत्ताको भोगचलन गर्ने अवस्थामा पुगेको छ । सत्ता गिराउने र बनाउने कार्यमा लागेका माधव नेपालको कित्ता पहिचान नहुँदा न सरकारले पूर्णता पाएको छ, न एमाले विवादले नै निकास पाएको छ । यसबाट माधव नेपाल नेपालको राजनीतिक इतिहासमा कलंक बन्न पुगेका छन् ।
असार २९ मा चार मन्त्रीसहित सपथ लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले तीन साता वितिसक्दा पनि मन्त्रीमण्डललाई पूर्णता दिन असफल हुनुको मुख्य दोष माधव नेपाललाई दिएका छन् । अहिले गठबन्धनका दलहरुले सरकार विस्तारबारेको ढिलासुस्तीमा माधव नेपालकै दोधारे भूमिकाले काम गरेको ठोकुवा गर्न थालेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारको पार्टी स्थायी कमिटी बैठकमा माधव नेपाल नै सरकार विस्तारको बाधक बनेको प्रष्ट गरे । माधव नेपालले कहिले सरकारमा जान तयार रहेको बताउने र कहिले विपक्षीमै बस्ने जस्तो ढुलमुले चरित्र देखाउँदा सत्ताधारी गठबन्धनसमेत वाक्क बनिसकेको छ ।
गठबन्धनले ६ मन्त्रालयको जिम्मा एमालेको माधव नेपाल पक्षलाई लगाउने भित्री सहमति गरेको थियो । तर नेता नेपालको व्यवहार सत्तापक्षको जस्तो र कानुनी हैसियत विपक्षी दलकै रहेपछि गठबन्धन अन्योलमा परेको हो । जसले गर्दा प्रधानमन्त्री देउवा नयाँ सरकार गठन भएको तीन साता पुग्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न असक्षम देखिएका छन् ।
माधव नेपाल पक्ष सरकारमा नआए कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादीलाई ७ र जसपालाई ६ मन्त्रालय भागबन्डा गर्ने मोटामोटी सहमति बने पनि नेता नेपालले केही दिन पर्खिन आग्रह गरेपछि गठबन्धनले नेपाल पक्षको निर्णयलाई पर्खिरहेको छ । तर सरकारमा जाने र नजाने भनी आफ्नै समूहमा देखिएको मतभेदका कारण सरकारले पूर्णता नपाएको बताइन्छ ।
गठबन्धनका नेताहरु पार्टी एकताको प्रयास भइरहेका बेला नेपालले गठबन्धनप्रति देखाएको प्रेम अशोभनीय रहेको बताउँछन् । माधव नेपालको दुईथरी मानसिकताकै कारण मन्त्रिमण्डल विस्तारले पूर्णता नपाउने मात्रै होइन, एमाले विवादले समेत सार्थकता नपाउने अवस्थामा छ ।
आफ्नै पार्टीको सरकार ढालेर गद्दारी गरेका नेपालको द्वैध चरित्रका कारण उनी प्रतिगमनको मतियार बनेको राजनीतिक वृत्तमा चर्चा हुन थालिसकेको छ ।