काठमाडौँ । एमाले अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपालबीच भेटघाटको तयारी गरिएको छ । पार्टी एकतालाई सहज बनाउनका बनाइएको विघटित कार्यदलका सदस्यहरूले अध्यक्ष ओली र नेपाललाई भेटघाटका वातावरण तयार पार्नुभएको बताइएको छ ।
घन्टौँ छलफलपछि सुवास नेम्वाङ र विष्णु पौडेलले अध्यक्ष ओलीलाई र भीम रावल, सुरेन्द्र पाण्डेलगायतले नेपाललाई भेटका लागि तयार बनाएको बताइएको छ । यद्यपि भेट हुने भए पनि समय र स्थान भने टुंगो लागेको छैन ।
नाटकीय परिवर्तन नभए अध्यक्ष ओली र नेता नेपालबीच भेट हुने र सहमति जुट्ने नेता नेम्वाङले बताउनुभएको छ । विगतको १० बुँदे सहमतिको आधारलाई टेकेर आवश्यक फेरबदल गर्ने जिम्मा अध्यक्ष ओली र नेपाललाई दिने तयारी विघटित कार्यदलले गरिसकेको छ ।
अध्यक्ष ओली पक्षको स्थायी कमिटी बैठकले नेपाल पक्षलाई ठाउँ खाली राख्दै केन्द्रीय निकाय र विभाग गठन गरेको छ भने नेपाल पक्षले एकताका लागि थप पहल गर्ने निर्णय सार्वजनिक भइसकेको छ ।