बुटवल । लुम्बिनी प्रदेशसभाकी सांसद विमलाकुमारी वली नेकपा एमालेमै फिर्ता हुनुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गर्दै आफू नेकपा एमालेमै फर्किएको बताउनुभएको हो ।
सांसद वलीले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेकाले एमालेमै फर्किएको बताउनुभएको छ ।
तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उहाँले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोज्नुभएको थियो ।
सांसद वलीले भन्नुभयो- मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्न चाहन्छु । उहाँले नेकपा एमाले र माओवादी केन्द्र एकता भएपछि नेकपाको चुनाव चिह्नबाट चुनावमा उम्मेदवार भएकाले आफू सूर्य चिन्हमै रहने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो- पार्टी विभाजनपछि म नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएको र पार्टीको दाङ जिल्ला कमिटी सदस्यको हैसियतले समेत बैठकमा सहभागी भएकाले कुनै भ्रममा नपर्नुहुन सबैमा आग्रह गर्दछु ।
दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख बाट निर्वाचित उत्तरकुमार वलीको मृत्यु भएपछि उहाँकी पत्नी विमला उपनिर्वाचनमा विजयी हुनुभएको थियो । उहाँ नेकपा एमालेमा फर्किएपछि ८० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको सांसद संख्या ३९ पुगेको छ भने अब विपक्षी गठबन्धनलाई सरकार गठनका लागि प्रदेशसभाको बहुमत नपुग्ने देखिएको छ ।
हेर्नुहोस् सांसद वलीद्वारा जारी प्रेस विज्ञप्ति