ललितपुर । ललितपुर महानगरपालिका–१९ ठगुटोलमा अवस्थित प्राचीन अग्निशालामा तामाको छानो हालिएको छ । पाँच हजार वर्ष पुरानो सो अग्निशालामा विसं १९९० को भूकम्पले छानो भत्काएपछि बेलायत सरकारबाट सहयोग प्राप्त जस्ताको छानो फेरिएको थियो ।
विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न जस्ताको छानोले मान्यता नपाउने भएसँगै अग्निशालामा २४ गेज मोटाइ तामाको छानो हाल्ने काम सम्पन्न गरिएको अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाले २६ गेज मोटाइ तामा प्रयोग गर्ने अनुमान गरे पनि जति सानो गेज मोटाइको तामा प्रयोग गरिन्छ त्यति नै बढी वर्षसम्म टिक्ने र बाक्लो पनि हुने भएकाले चाँडै नबिग्रियोस् भनी २४ गेज मोटाइको तामा हाल्यौँ ।” उहाँका अनुसार अग्निशालामा छानो छाउन महानगरपालिकाले रु ४० लाख सहयोग गरेको थियो ।
विसं १९९० को भूकम्पअघि सो अग्निशालामा झिङ्गटीको छाना छाइएको थियो । तामाको छानोले अब १०० वर्षसम्म पनि काम दिने विश्वासका साथ महानगरपालिकाले दिएको अनुमतिमा केही फेरबदल गरी काम गर्दा लगभग रु ५० लाख खर्च भएको शर्माको भनाइ छ ।

























