काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्चीमा गए राति फेरि बाढी आएको छ । बाढीले केही घरमा क्षति पु-याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको बताउनुभयो । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको उहाँले बताउनुभयो । हेलम्बु गाउँपालिका–१ हेमाथांका चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको डिएसपी सापकोटाले बताउनुभयो । चनौटे बजारको बीच भागबाटै पानी बगेको छ । यसअघि असार १ गते आएको बाढीले हेलम्बु र मेलम्चीलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति पु-याएको थियो । फेरि बाढी आएपछि मेलम्चीवासी त्रसित बनेका छन् ।

























