काठमाडौँ । पूर्व युवराज पारस शाह र ट्राफिक प्रहरीबीच बीच सडकमै भनाभन भएको छ । हेल्मेट प्रयोग नगरी मोटरसाइकल चलाइरहेका बेला ट्राफिक प्रहरीले रोकेपछि पूर्व युवराज पारस भनाभनमै उत्रिनुभएको हो ।
शुक्रबार साँझ काठमाडौँको महाराजगञ्ज चोकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीसँग उहाँ वादविवादमा उत्रिनुभएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा स्रोतका अनुसार हेल्मेट प्रयोग नगरी केही व्यक्तिले मोटरसाइकल चलाइरहेको देखेपछि ड्युटीमा रहेका ट्राफिक प्रहरीले उनीहरुलाई रोकेका थिए ।
हेल्मेट नलगाई मोटरसाइकल चलाउनेमध्येका धेरैले प्रहरीसँग गल्ती स्वीकार गरे पनि पारस शाह भने उल्टै वादविवादमा उत्रिएका ट्राफिक महाशाखाका एक प्रहरीको भनाइ छ ।
पूर्व युवराज पारसले प्रहरीसँग झगडा गरिरहेको विषयमा केही प्रत्यक्षदर्शी (सर्वसाधारण) ले भिडियो समेत खिचेका छन् । जसमा प्रहरीले उहाँलाई प्रहरी कार्यालय जान भनिरहेको सुनिन्छ। तर, पारस भने ‘जान्न, म जान्न, के गर्छस्र’ भनिरहेको सुनिन्छ ।
त्यहाँ रहेका प्रहरी कर्मचारीले सञ्चार सेटमार्फत् तालुक निकायमा खबर गर्दै गाडी पठाउन माग गरिरहेको भिडियोमा सुनिन्छ । त्यसबीचमा पारससँगै आएका उनका समर्थकले हो–हल्ला गरेको पनि भिडियोमा देखिन्छ ।
पारसलाई चौकी नल्याई बाटोमै छोड्नु भन्ने आदेशपछि उहाँलाई कुनै कारबाही नगरी छाडिएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका एक कर्मचारीले बताउनुभयो । ‘बाटोमा सर्वसाधारणको भिड पनि बढ्ने र अनावश्यक तनाव सिर्जना हुने भन्दै माथि (महानगरीय प्रहरी परिसर काठमाडौँ’बाटै छाड्नु भन्ने आदेश आयो,’ महाराजगञ्ज बृत्तका ती प्रहरी कर्मचारीले बताउनुभयो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरि पालले भने गल्ती स्वीकार गरी माफी मागेपछि पारस र उहाँका समर्थकलाई छाडिएको बताउनुभयो ।




















