काठमाडौँ । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीनजना सांसद पदमुक्त हुनुभएको छ ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिनुभयो । सांसदबाट पदमुक्त भएका तीनैजना मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा मन्त्री हुनुहुन्छ ।
जसपाको उपेन्द्र यादव पक्षकै निर्णयका आधारमा १४ वैशाखमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयसँगै सुमन शर्मा रायमाझी पदमुक्त हुनुभएको थियो ।
तर सर्वोच्च अदालतले ३ जेठमा आफ्नो पक्षमा आदेश दिएपछि उहाँहरु फेरि प्रदेशसभामा फर्किनुभएको थियो । १८ असारमा रायमाझीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा दिएर यादव पक्षमा लाग्नुभयो । तीनजना महन्थ ठाकुर पक्षमा लाग्नुभयो ।
११ साउनमा यादव पक्षले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएलगत्तै लुम्बिनीका तीन सांसदलाई कारबाही गर्ने निर्णय गर्यो । पार्टीको निर्णय विपरीत सरकारमा सामेल भएको, दलको ह्वीप उल्लंघन गरेको जसपाको आरोप छ ।