काठमाडौँ । जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएसँगै नेपालको टोकियो ओलम्पिक यात्रा समाप्त भएको छ । आज बिहान भएको महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडीमध्ये आठौं हुनुभयो ।
उहाँ अघिल्लो चरणमा पुग्न असफल हुनुभयो भने व्यक्तिगत समय पनि सुधार गर्न सक्नुभएन । उहाँले १२.९१ सेकेण्डमा दूरी पूरा गर्नुभयो । सरस्वतीले ओलम्पिकमा व्यक्तिगत समय सुधार गर्ने लक्ष्य राखे पनि सफल हुनुभएन । सरस्वती बाहिरिएपछि टोकियो ओलम्पिकमा नेपालको यात्रा समाप्त भएको छ ।
नेपालबाट यस ओलम्पिकमा चार खेलमा पाँच खेलाडीले सहभागिता जनाएका थिए । जसमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका छन् । सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा १३औँ दक्षिण एसियाली खेलकुदमा आफैँले बनाएको ६ सय १४.५ अंक तोड्दै ६ सय १६.८ अंक जोडेकी कल्पनाले राष्ट्रिय कीर्तिमान बनाउनुभयो । पुरुष सय मिटर पौडीतर्फ एलेक्जेण्डर शाह (एलेक्स) ले निर्धारित दुरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गर्नुभयो । उहाँले पनि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमानलाई सुधार गर्दै नयाँ कीतिमान बनाउनुभएको हो ।
त्यस्तै आशा गरिएकी खेलाडी गौरिका सिंहले पनि आफैले राखेको राष्ट्रिय कीर्तिमानको सुधार गर्नुभएको छ । गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा १:००.११ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाउनुभएको हो । यसअघि उहाँको नाममा १:००.६२ को राष्ट्रिय कीर्तिमान थियो । आफ्नै खर्चमा बेलायत बसेर अभ्यास गरिरहेकी गौरिकाले आफ्नो हिटमा तेस्रो स्थान प्राप्त गर्नुभएको थियो । उहाँले ५० मिटर लङ कोर्शमा पनि आफ्नै नाममा रहेको कीर्तिमान भंग गर्नुभएको हो ।