काठमाडौँ । आज मुलुकमा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षा हुने स्थानमा सचेत रहन राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आज बिहानदेखि नै काठमाडौँलगायत अन्य केही जिल्लामा मौसम परिवर्तन भएको छ । उपत्यकाका धेरै स्थानमा बिहानैदेखि मौसम सफा देखिएको छ भने केही स्थानमा बदली भइरहेको छ । त्यस्तै, दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहँदा गण्डकी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदलीको भएको छ । गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।
प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।