भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को रिजल्ट यही साउन २५ गतेभित्र प्रकाशित गर्ने भएको छ ।
यही साउन २५ गतेभित्र २०७७ को एसइई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताउनुभएको छ । सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको बताउँदै उहाँले कुनै प्राविधिक कठिनाई नआए आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा सार्वजनिक गर्ने उहाँले जानकारी गराउनुभयो । उहाँका अनुसार २०७७ सालको एसइई परीक्षाका लागि पाँच लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका थिए ।
दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञाका कारण गत वैशाख २७ गते एसइई परीक्षा स्थगित भएको थियो । गत जेठ १३ देखि भौतिकरूपमा एसइई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरे पनि कोभिडकै कारण परीक्षा हुन नसकेपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाट रिजल्ट प्रकाशित गर्ने निर्णय गरेको थियो ।
कोभिडकै कारणले २०७६ सालको एसइई परीक्षाको रिजल्ट पनि आन्तरिक मूल्याङ्कनबाट प्रकाशित भएको थियो ।




















